ललितपुर, लुभुस्थित महालक्ष्मी उमाविमा एसएलसी परीक्षा दिइरहेका १४ विद्यालयका २ सय ८० भन्दा बढी विद्यार्थीमध्ये उनी शारीरिक बनोटमा मात्र फरक छिन्, अरु कुनै पनि कुरामा अन्य विद्यार्थीभन्दा केही फरक छैन ।
'उनको आत्मविश्वासबाट हामी साह्रै प्रभावित भएका छौं, सुविधाभन्दा समान व्यवहार गरियोस् भन्ने उनको चाहना रहेछ,' केन्द्राध्यक्ष नीलप्रसाद दुलालले नागरिकसँग भने । उनका अनुसार परीक्षा सञ्चालन निर्देशिकाले उनलाई एक्लै परीक्षा दिने र एक घन्टा समय थप्न सकिने सुविधालाई अर्पिताले कुनै महत्व दिएकी छैनन् । 'नेपाली र आज सामाजिक शिक्षामा आधा घन्टामात्र थप समय मागिन्,' दुलालले भने ।
ललितपुर, महालक्ष्मी नगरपालिका घर भएकी अर्पिता उमेरले १६ वर्षमा छिन् । विसं २०५६ माघ ११ गते जन्मेकी उनको ३ महिनापछि नै स्वाभाविक शारीरिक विकास नभएर औसतभन्दा घट्दै गएको थियो । आमा अनिता पौडेलले अर्पिताको शारीरिक विकास मात्र असामान्य भए पनि मानसिक विकास भने अरुजस्तै सामान्य रहेको बताइन् । 'गर्नुपर्ने आवश्यक परीक्षण हामीले सबै गरायौं । शारीरिक विकासमात्र भएन, अन्य सबै सामान्य छ,' पौडेलले भनिन् ।
लामाटारस्थित विद्यापुञ्ज इङलिस सेकेन्डरी स्कुलबाट प्रवेशिकामा सहभागी अर्पिताले सेन्डअपमा ७० प्रतिशतभन्दा बढी अंक ल्याएकी थिइन् । एसएलसीमा अझ राम्रो अंक ल्याउने चाहना उनले सानो स्वरमा बताइन् । उनलाई वाणिज्यशास्त्रमा उच्च शिक्षा अध्ययन गर्ने रुचि छ । " कर्मस पढने हो, बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ,' अर्पिताले भनिन् ।
अर्पिताको उमेर अनुसार उनको तौल र उचाइ बढेको छैन । उनको उचाइ जम्मा ८० सेन्टिमिटर र तौल जम्मा २२ केजी छ । भाइ र आमाको सहयोगमा परीक्षा केन्द्र आउने जाने गरिरहेकी अर्पितालाई परीक्षाको पहिलो दिन सुविधा अनुसार एक्लै राखिएको थियो । तर उनले आफू अन्य विद्यार्थी सरह सँगै परीक्षा दिने भनेपछि दोस्रो दिनदेखि त्यसै गरिएको केन्द्रले जानकारी दिएको छ ।
'परीक्षाका बेला हामीले उनलाई स्वभाव शान्त र शालीन पाएका छौं,' केन्द्रको सुरक्षामा खटिएका प्रहरी प्रभाग लुभुका इन्चार्ज अनिरुद्र भुजेलले भने । विद्यालयका शिक्षक, साथी र आफन्तसँग अर्पिताको एउटै मात्र आग्रह हुन्छ– अरुसरह समान व्यवहार र अवसर दिन । उनी अध्ययनरत विद्यापुञ्जका प्रधानाध्यापक भरत न्यौपानेका अनुसार अर्पिताको हक्कि स्वभाव, मिजासिलो व्यवहार र मेहनती स्वभावका अगाडि उनको शारीरिक बनोट अवरोध नबनेको बताउँछन् । 'उनी क्षमतावान छिन्, हामी उनले प्रगति गर्नमा विश्वस्त छौं,' न्यौपानेले भने ।
अर्पितालाई हुर्काउन केही कठिनाइ भए पनि उमेरसँगै उनी समझदार र सहयोगी हुँदै गएको अनिताले बताइन् । 'उसका बुबा बाहिर, पहिलो सन्तान भएकाले पहिले केही अप्ठेरा दिन थिए । अहिले भने ढुक्क छु,' अनिताले भनिन् ।